Friday, October 18, 2024

नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू

 नसर्ने रोग रोकथाम तथा नियन्त्रणका ७ उपायहरू :


१. धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने

- क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुट्का, खैनी, ई-सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो ।

- अरुले गरेको धूम्रपानको धुँवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ ।

- धूम्रपान गर्ने व्यक्तिलाई ह्दयघातको खतरा लगभग तीन गुणा बढी हुन्छ ।


२. मदिराको सेवन नगर्ने

- रक्सी, वियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा ह्दयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् ।

- मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ ।


३. शारीरिक रूपमा सक्रिय रहने

- योग गर्ने, हिंडडुल गर्ने, दौडने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी

कमसेकम ३० मिनेट नियमित रुपमा व्यायाम गर्ने ।

- शरीरको तौल बढी भए घटाउने । स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने ।


४. नुन र चिनीको प्रयोग कम गर्ने

- नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ ।

- खानामा नुनको प्रयोग कम गर्ने (दिनको ५ ग्राम भन्दा कम) ।

- गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने ।

- चिया र कफिमा चिनी कम हालेर खाने ।

- शुद्ध र सफा पानी पिउने । एक दिनमा कम्तिमा २ लिटर पानी पिउने ।


५. सन्तुलित खाना खाने

- क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न

अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने ।

- मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त (४-५ पटक) खाने ।

- खानासँग नुन नहालेको सलाद नियमित खाने ।


६. मानसिक तनाबको व्यवस्थापन गर्ने

- ध्यान तथा योगा गर्ने ।

 - रिसलाई नियन्त्रण गर्ने ।

 - परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने ।

 - घर तथा कार्यालयमा तनाब मुक्त वातावरण सिर्जना गर्ने ।

 - घुमफिर र रमाइलो गर्ने ।

** आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन नं. ११६६ मा २४ सै घण्टा सेवा उपलब्ध छ ।


७. उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने

- उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने ।

- रगतमा चिनीको मात्रा बढेको (मधुमेह) भएमा नियमित जा“च र उपचार गरी नियन्त्रणमा राख्ने ।

 - रगतमा चिल्लोपना बढेको (उच्च कालेस्ट्रेरोल) भएमा नियमित जाँच र उपचार गरी

नियन्त्रणमा राख्ने ।

-  मोटोपना घटाइ स्वस्थ तौल (उचाइ अनुसारको तौल) कायम गर्ने ।

Source : National Health Education Information and Communication Centre




No comments:

Post a Comment